असफल राजनीतिमा हाम्रो भुमिका

ईश्वर दाहाल,सउल  दक्षिण कोरिया l

इतिहासमा किराँत, लिच्छवी, मल्लकाल हुँदै शाहबंश, तानाशाही राणाशासन, प्रजातन्त्र, निरंकुस पंचायत व्यवस्था,फेरी प्रजातन्त्र र आज भोलि भनिने गरेको गणतन्त्र जे भएपनि यी सबै काल खण्डमा जनताले ठुलै सकस भोगेका छन् । वि.सं.२००७ साल राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय पछाडी पनि पटकौ जनताको नाउँमा आन्दोलन भए तर परिणाम जनताको पक्षमा कहिल्यै भएन । वीरहरुको गौरब गाथा बोकेको देश लामो समय देखि राज्य चलाउने ठोस नीतिको अभावमा अल्झिरहेको छ । देश भोक, रोग, गरिबी, असुरक्षा, बेरोजगार, भ्रष्टाचार, महंगीले जकडिएको छ। आशा लाग्दो कुरा कहिँ कतै देखिदैन । राजानिक हस्तक्षेप बढ्दो छ। जता पनि राजनीतिक चर्चा परिचर्चा । राष्ट्र पछाडी पर्नुको कारण केहि हो त याँहा गरिने राजनीति र दोषी कोहि हो त प्रमुख राजनीतिक दलका नेताहरु हुन् भनेर सजिलै औंलो ठड्याईदिने गरिन्छ । राजनीतिक चेतना यसरी जनतामा संचार भएको छ कि एउटा कलिलो बालकले पनि देश नेताले बिगार्यो भनि दिन्छ। तसर्थ देशको चौतर्फी बिकासका प्रमुख बाधक प्रमुख राजनीतिक दलका नेताहरु नै हुन भन्ने निष्कर्ष निकालिन्छ। हुन पनि हो पार्टीगत कुरा भन्दा माथि उठेर राष्ट्रको लागि केहि गर्न नसक्ने नेताहरुको नेतृत्व क्षमतामा प्रश्न गर्ने ठाउँ भने धेरै छ। 
सहमतिको राजनीति गरौ भन्दै आफैले गरेको सहमतिमा आनेक बखेडा झिकी सहमति उल्ट्याउने काम यीनै आजका नेताहरुले पटक पटक गरेका छन्। हुँदा हुँदा सार्बजनिक स्थानमै देश चलाउने निर्देशक अन्तै कतै  भएको र आफु मात्र कलाकार भएको कुरा लाज पचाएरै भनिदिन्छन जनताका आगाडी। 
देशको राजनीति असफल भएको कुरा घाम जस्तै छर्लंगै छ,आजको दिनसम्म आइपुग्दा। तर के राजनीति असफल हुनुको जिमेवारी हामिले लिनु पर्दैन?के हामि नागरिकहरु को कुनै भूमिका छैन आजको असफल राजनीतिको पछाडी ?यस बिषयमा बेजोड बहस गर्न आवस्यक छ। हामि फुर्सद पाउनासाथ नेताहरुलाई गालि गरेर समय बिताउछौ। यो भएन, त्यो भएन भन्छौ तर तिनै नेताहरुलाई विदेश झिकाएर सम्मान गर्छौ, खादा ओढाउछौ  । के का लागि सम्मान हो त्यो ? राष्ट्रको लागि के गरे उनीहरुले ?केवल आफ्नो पार्टीको एजेन्डा प्रयोग गर्ने प्रयोगशाला बनाए राष्ट्रलाइ । आपराध बढेको बढेकै छ,आपरधिले राजनीतिक प्रश्रय पाएको छ । नागरिकको सुरक्षामा राज्य मौन छ। भ्रस्टचार आकासियो तर कारबाही हुदैन भ्रस्टाचारिलाइ। आराजकता, कुसासन यी सारा कुरा जान्दा जान्दै पनि हामि नेताहरुलाई पुष्प बर्षाले स्वागत गर्छौ र उनीहरुलाई प्रोत्साहित गरिरहन्छौ। साइत जुराएरै नेताको हातबाट साना ठुला आयोजनाको उद्घाटन गर्छौ, रिबन कटाउछौ, लाम लगेर फोटो खिचाउछौ। नेताहरु प्रतिको यस्तै हाम्रो अन्धो भक्तिले उनिहरुलाई देश उधोगतिमा लागेको चिन्ता भन्दा पनि आफ्नो प्रभाब राम्रै रहेछ भनेर मख्ख पर्छन अनि जनताले गरेको आदर सत्कार र बिश्वासको धज्जी उडाएर सत्ताको खेलमा लुप्त हुन्छन । अनि यसको जिम्मा हामीले लिनु पर्छ कि पर्दैन ? 
यसो भन्दै गर्दा सम्मान,आदर सत्कार गर्ने संस्कृतिलाई नराम्रो भन्न खोजेको पक्कै होइन। यदि साँचो अर्थमा पार्टीगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रको हितमा काम गर्न सक्ने कोहि राजनेता जन्मिन्छ भने, हरेक नेपालीको मनमा उनीहरुको ठाउँ हुनेछ। सम्मानमा उनीहरुको फोटो टाङ्गिने छ। नेपाल र नेपालीको नेता भनेर गर्व गरिने छ।

केहि अपबाद बाहेक अभिभावकले आफ्ना सन्तानलाई जस्तो बताबरणमा हुर्काएका हुन्छन, कालान्तर सम्म उनिहरुबाट त्यसको असर देखिन्छ । उ चोर, फटाहा, सन्काहा, असल, कलाकार, साहित्यकार, राजनीतिज्ञ आदि आदि के हुने हो उसलाई कस्तो बातबरणमा हुर्काइयो त्यसले पनि केहि भूमिका खेलेको हुन्छ। भन्न खोजेको के हो भने नेतालाइ हामि जनताले नेता बनाएका हौ  । जनताले हुर्काएका हुन् उनीहरुलाई। त्यसैले एकचोटी फर्केर हेरौ कस्तो माहोलमा उनीहरुलाइ हुर्कायौ ? नेताहरुले भ्रष्टाचार गर्छन त्यही अभियोगमा थुनिन्छन,भोलिपल्टै हामि सडकमा उत्रिन्छौ उनलाई कारबाहीको माग गर्न होइन,छुटाउन । हामि कति सम्म अन्धो हुन्छौ भने नेताहरुले जस्तोसुकै गैरकानुनि काम किन नगरुन उनीहरुलाई छुट हुनुपर्छ भन्ने मान्यता राख्छौ मात्र आफ्नो पार्टीको नेता भएको कारणले। अब भन्नुस कस्तो माहोल पाएका छन् उनीहरुले?खबरदारी गर्नु पर्नेमा उल्टो प्रश्रय दिएपछि आगामी दिनहरुमा कस्तो काम को आपेक्षा गर्नु हुन्छ तपाइँ नेताहरुबाट ?अब नेताले देश बिगारे भन्ने होइन, हामीले नेता बिगार्यौ अनि नेताले देश बिगारे भन्न अतियुक्ति होला। 

अर्को कुरा, हामी आफु आफुमा यसरी विभाजित भएका छौ कि जसको कारण नेताहरुले मुख चलाएकै भरमा ठुला कहलिएका छन् । केवल हामीले तालि बजाइरहेका छौ। तालिका पछाडी कतिका छोराले जागिर खाएका होलान, कतिले नेताका झोला बोक्न पाएका होलान, कतिले बुझेर -नबुझेर बजाएका होलान। अनि पार्टीकै कुरा गर्दा पनि न्वारनदेखिकै बल निकालेर घाटिको नसा देखिने गरि मेरो पार्टी, तेरो पार्टी भन्छौ । पार्टी भित्र पनि यो गुट त्यो गुट भन्छौ र नेताहरुलाई हामि माथि राजनीति गर्ने बाताबरण मिलाइदिरहन्छौ । 
मुलुक अहिले चुनाबी माहौलमा होमीएको छ यसर्थ बिगतका कमि कमजोरीहरु महसुस गर्दै अब मेरो देश,मेरो राष्ट्र भनेर एक हुने बखत आएको छ। राजनीतिक दलहरुले गरेका गलत काममा लोली मिलाउने काम नगरिकन गलत कामहरुको आलोचना गरौ । खबरदारी गरौ । हामि नागरिकले गर्ने कामहरुबाट नै समाज रुपान्तरण हुने हो । त्यसका लागि आफ्नो भूमिकाको बारेमा प्रष्ट हुनु जरुरी छ । नेपाल र नेपालीको पहिचान बनाउनुको खातिर पार्टी,गुट,झुण्ड,परिवार र आफ्नो हितको दायराबाट माथि उठेर नेतृत्व गर्न सक्ने राजनेताको पहिचान गरौ । जसले नेपाललाई उन्नतिको शिखरमा पुर्याउन सकोस ।

Related

bichar 1978014176702517343

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item