सहयोगी कोरियाबासि नेपालीहरुमा आभार ब्यक्त गर्दै रबिन्द्र मिश्र आफ्नो फेसबुक पेजमा यसरि लेख्छन ( पूर्ण पाठ )


दक्षिण कोरीयामा बस्नुहुने सम्पूर्ण नेपाली साथीहरू,
तपाईंहरुले मेरो एक हप्ते दक्षिण कोरीया बसाईका बेला देखाउनु भएको सदभाव, न्यानोपना र १० करोडको परोपकारी अक्षय कोष स्थापनाका लागि गर्नुभएको १० लाख रूपैयांको सहयोगका लागि मैले जति आभार ब्यक्त गरे पनि पुग्दैन। तपाईंहरूको सहयोगपछि गत पांच हप्तामा संकलित रकम २५ लाख भन्दा बढी हुन गएको छ।

तपाईंहरू मध्ये अधिकांश केही आर्थिक उपार्जनका लागि कोरीयामा अत्यन्त कठीन प्रकृतिको काम गरेर पसिना बहाईरहनु भएको छ l र पनि, नेपाल र नेपालीप्रति शब्दमा मात्र हैन कर्मबाट नै देखाएको प्रेम र स्नेह हामी सबैका लागि उदाहरणीय हुने सम्झिएर मैले धन्यबादका यी केही अनुच्छेदहरू सार्वाजनिकरूपमैं लेख्‍नु उपयुक्त संझिएं।

गत आइतवार सोलमा आयोजित कार्यक्रममा आफ्नो नियमित कामबाट समय निकालेर हल टनाटन हुनेगरी उपस्थित भएका र कार्यक्रममा आउन नसक्दा समेत फोन गरीगरी बैंकमा पैसा दाखिला गर्ने नेपालीहरू मेरा लागि जिवनभर प्रेरणाका स्रोत रहिरहने छन्। सो कार्यक्रम न त मनोरन्जनात्मक थियो न त राजनीतिक नै। कार्यक्रममा सहभागी हुने सबैजना र केही त अझ मध्य गर्मीमा घण्टौंको यात्रा गरेर परोपकारी अक्षय कोषका लागि पैसा दिन नै भनेर भेला भएका थिए। हलमा लाम लागेर उनीहरू जति सकिन्छ त्यति दान गरे। सो सहयोग अधिकांशत: त्यस्ता ब्यक्तिहरूले गरिरहेका थिए जो निम्न मध्यम वर्गीय पारिवारीक पृष्टभूमीका श्रमिकहरू थिए। त्यो दृष्यबाट आयोजकहरु र विशेषगरी म भावुक हुनु स्वभाविक थियो। मनमनै सोचिरहेको थिएं, ती सबैलाई जिवनभर खान पुगोस्, दिन पुगोस्!

कार्यक्रमस्थलमैं लगभग ६ लाख रूपैयां जम्मा भएको थियो भने कार्यक्रम समाप्त हुंदा बैंकमा दाखिला भएको रकम समेत जोड्दा त्यो दश लाख रूपैयांभन्दा बढी भैसकेको थियो। लगभग ४०० नेपाली, विशेषगरी मजदूरहरूले, उक्त रकम सहयोग गरेका थिए। सो रकमबाट एक पैसा पनि प्रशासनिक काममा खर्च नहुने कुरा म यहांहरूलाई पुन: जानकारी गराउन चाहान्छु।

१० करोडको परोपकारी अक्षय कोष स्थापनाका लागि सहयोग संकलन र ‘परोपकार र सामाजिक कार्य’ बारे अन्तरकृयाको आयोजना गर्ने र मेरो भ्रमणको प्रायोजन गर्ने हेलोनेपाल कोरीया डट कम र नेपाल पत्रकार महासंघ, कोरीया च्याप्टरप्रति म धन्यवाद ज्ञापन गर्न चाहान्छु। त्यसमा, पनि कार्यक्रमको आयोजनाका लागि विशेष सहयोग गर्नुहुने हेलोनेपाल कोरीया डट कमका सम्पादक रघु त्रिपाठी, गैर आवाशीय नेपाली संघका सल्लाहाकार तथा समाजसेवी रूद्र शर्मा तथा नेपाल पत्रकार महासंघका उर्जाशील सदस्यहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ।

कोरीयामा लगभग १७ हजार नेपालीहरू रहेको अनुमान गरिएको छ र गत आइतवारको कार्यक्रमबाट अत्यन्त उत्साहित भएका आयोजक साथिहरू कमसेकम दश हजार नेपालीलाई अक्षय कोष स्थापना अभियानमा सामेल गराउन सकिने आशा गरिरहेका छन्। दश हजार नेपालीले पांच/पांच हजार मात्र चन्दा दिए पनि पांच करोड रूपैयां संकलन हुन सक्छ भन्ने उनीहरुको विश्वास छ। त्यो विश्वभरीका नेपालीका लागि उदाहरण हुनसक्ने अपेक्षा उनीहरुले लिएका छन्। सतकार्य गर्दा अपेक्षा वास्तविकतामा परिणत हुन बेर लाग्दैन। त्यसका लागि तपाईंहरू सबैलाई धेरैधेरै शुभकामना! कोरीयामा बस्नुहुने धेरै भन्दा धेरै नेपालीले यो परोपकारी अभियानमा साथ दिनुहुनेछ भन्ने मैले आशा राखेको छु। सहयोगका लागि रघु त्रिपाठी [(0082) 10257-45484] अथवा रूद्र शर्मा [(0082) 10397-74848] संग सम्पर्क गर्नहुन अनुरोध गर्दछु। तपाईंहरू सबैप्रति पुन एकपल्ट आभार प्रकट गर्दै विदा लिन चाहान्छु। सबैलाई खान पुगोस्, दिन पुगोस्! (साथमा हलमा उपस्थित सहभागीहरुको एउटा फोटो प्रेषीत गरेको छु।)

शुभेच्छुक
रवीन्द्र मिश्र
                               
                                     (यो पूर्ण पाठ रबिन्द्र मिश्रले आफ्नो  फेसबुक पेज मार्फत व्यक्त गरेका हुन् l )

                                 

Related

korea 6224254348745339131

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item