कोरियाली राष्ट्रपतिका चुनौती l
https://nnkorea.blogspot.com/2012/12/l_26.html
माधवी भट्ट ,काठमाडौँ l
बुधबार सम्पन्न राष्ट्रपति निर्वाचनमा कोरियाको परम्परावादी समूहको प्रतिनिधित्व गर्ने सेनुरी पार्टीको उम्मेद्वार पार्क गुनहे निर्वाचित भएपछि दक्षिण्ँ कोरियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ। लैङ्गिक असमानता उच्च रहेको कोरियामा महिला भएकैले वा महिलाका कारण् गुनहे निर्वाचित भएकी भने होइनन्। यो सफलता उनकै पिता विकासवादी तानाशाह पार्क चङहीको राजनीतिक जगमा प्राप्त भएको हो। सन् १९६१ मा सैनिक कु गरी १८ वर्ष शासन चलाएका पार्क चङहीले एकातिर कोरियामा विकासको जग बसाले भने अर्कोतिर जनतामाथि कठोर दमन गरे। त्यसबेला पार्क गुनहेले शक्तिशाली पितास"गै कोरियाली राष्ट्रपति निवास 'ब्लु हाउस' बस्ने अवसर मात्र पाइनन्, एक उत्तर कोरियालीले आमाको हत्या गरेपछि 'फस्ट लेडी' को जिम्मेवारीसमेत पूरा गरिन्। करिब ४० वर्षपछि नया" इतिहास रच्दै आगामी फेबु्रअरीमा ब्लू हाउस पस्ने तयारी गरिरहेकी यी नेतृका सामु चुनौतीहरु भने कम छैनन्।
नेपालमा जस्तै कोरियाली नेताहरुमा सधैँभरी पदमा बसिरहने र पदमा पुग्न जुनसुकै प्रपञ्च रच्ने संस्कार विकसित भएपछि कोरियाली संविधानले राष्ट्रपतिको पदावधि एक पटकमा सीमित गरेको छ। राष्ट्रपति निर्वाचित पार्कका सामु सन् २०१३ देखि २०१८ सम्मको यही पा"च वर्षे अवधिमा आर्थिक वृद्धिदर बढाउने, उत्तर कोरियासँगको सम्बन्ध सुधार्ने, प्रजातन्त्रप्रतिको प्रतिबद्धता देखाउने र महिलामैत्री छवि बनाउनुपर्ने चुनौती छन्। कतिपय कोरियनहरु कुख्यात् तानाशाहका रूपमा उनका पिता पार्क चङहीलाइ घृणा गर्छन् भने कतिपय राष्ट्रपिता भनी श्रद्धा गर्छन्। विकासप्रेमी तानाशाहको राजनीतिक उत्तराधिकारीका रूपमा पार्क गुनहेले जस र अपजस दुवै बोकेकी छिन्।
प्रजातन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न
निर्वाचित हुनुपूर्व र पछि पार्क गुनहेले देशप्रेम र प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्या्एकी छिन्। निर्वाचन क्याम्पेनका क्रममा पटकपटक आफ्ना पिता पार्क चङहीले गरेको दमन शोषणप्रति माफी पनि मागिन्। तर पार्कको प्रजातन्त्रप्रतिको निष्ठामा धेरै कोरियाली अझै विश्वस्त छैनन्। उनलाई पनि पिता पार्क चङही जस्तै निरंकुश र हठी स्वभाव बोकेको भनी आलोचना गर्नेहरुको कमी छैन। हुन पनि पार्क गुनहे त्यस्ता पिताबाट प्रशिक्षित छिन्, जसले मार्सल लको आडमा संविधान परिवर्तन गरेर आफूलाई आजीवन राष्ट्रपति बनाउने बाटो खोले। बाबुको हत्यापश्चातको लामो राजनीतिक जीवनमा पनि पार्क गुनहेले उदार र प्रजातान्त्रिक छवि बनाउन सकेकी छैनन्। जुन उनको कमजोरी मानिएको छ। बाबु पार्क चङहीले जस्तै आजीवन राष्ट्रपति बन्न संविधान नै संशोधन गर्ने र जनतामाथि उस्तै कडा दमन गर्ने हैसियत त छोरी पार्कले पक्कै राख्दिनन्। तैपनि ग्लोबलाइजेसन र उदारीकरणले निम्त्याएका परिवर्तन सम्बोधन गर्न उनलाई कठीन छ। उनी र उनको पार्टी पुरातन सोचबाट ग्रस्त छ। पश्चिमा हावाले कोरिया भनेे राम्रैस"ग प्रभावित छ। ट्रान्सजेन्डर, लिभिङ टुगेदर, गे र लेस्बियनका अधिकारको विपक्षमा कोरियाली पुरातनपन्थीहरु छन्। उनीहरु यसलाई दमन गर्नुपर्छ भन्ने ठान्छन्। प्रवासी कामदार र परिवारहरुलाई पनि सेवा, सुविधा र अधिकार दिइनुहुन्न भन्ने पनि उत्तिकै छन्। यस्ता समूह पार्क गुनहेकै सेनुरी पार्टीमा धेरै छन्। पार्क गुनहेका सामु हरेकको व्यक्तिगत स्वतन्त्रता प्रत्याभूत गर्दै अल्पसंख्यकलाइ संरक्षण गर्नुपर्ने जिम्मेवारी पनि छ।
आर्थिक विकासको चुनौती
जि-२० सदस्य राष्ट्र कोरियामा अहिले पूर्ण प्रजातन्त्र र उच्च आर्थिक विकास छ। प्रजातन्त्र सुनिश्चततातर्फ लम्कँदैछ तर विकासको वृद्धिदर भने केही वर्षयता खस्कँदै गइरहेको छ। सन् २००८ मा सुरु भएको विश्वव्यापी आर्थिक मन्दीले कोरियालाई नराम्ररी हल्लाएको छ। सेनुरी पार्टीबाटै निर्वाचित वर्तमान राष्ट्रपति लि म्योङवाकले ५ वर्षअघि आर्थिक वृद्धिदरलाई ७ प्रतिशत बनाउने महŒवाकांक्षी लक्ष्य लिएका थिए, जुन अहिले २.४ प्रतिशतमा झरेको छ। प्रजातन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्नचिह्न लाग्दालाग्दै पनि पार्कगुनहे राष्ट्रपतिमा निर्वाचित हुनुको कारण उनले अर्थतन्त्र मजबुत बनाउने छिन् भन्ने विश्वास पनि हो। त्यसो त पार्कलाई मत दिनेमा नया" पुस्ता भन्दा पनि पुरानो पुस्ता बढी छ।
कोरियामा अहिले धनी र गरिबबीचको खाडल पनि अत्यन्त बढ्दै गएको छ। सामाजिक सुरक्षा नीतिमा पुनरावलोकन नगर्ने हो भने गरिबहरुले सहज जीवन बिताउन सक्ने छैनन्। पार्क चङहीले शक्ति हत्याउँदाको बेला कोरियाको प्रतिव्यक्ति आय जम्मा ७२ अमेरिकी डलर थियो। 'लेट््स लिभ वेल' भन्ने नाराका साथ पार्क चङहीले देशभर सडक र रेल निर्माण गरे। उनकै पहलमा देशमा औद्योगिकीकरण भयो। त्यहीबेला खुलेका र फष्टाएका उद्योगहरुले नै कोरियामा द्रुत विकास भएको हो। त्यसबाहेक पार्क चङहीले देशमा कठोर श्रम गर्ने र अनुशासनमा रहने संस्कृति पनि विकसित गराए।
कोरियाली प्रतिव्यक्ति आय अहिले २० हजार डलर नाघिसकेको छ। कठोर परिश्रमी र अनुशासित कोरियालीहरु यस्तो नेता चाहन्छन्, जसले अर्थतन्त्र डगमगाउन नदियोस्। गुनहेले उनकै पिताले ल्याएको लेट्स लिभ वेल भन्ने नारा दोहोर्यारएकी छिन्। तर सन् १९६० को दशकभन्दा समय फरक धारमा दौडिरहेको छ। निर्यातमुखी र वैदेशिक कामदार आश्रित त्यहाँको अर्थतन्त्र अब कोरियाको घरेलु वातावरणले मात्र निर्धारित गर्न सक्दैन। पार्क गुनहेको सफलता यही अर्थतन्त्रको वृद्धिमा निर्भर गर्नेछ।
उत्तर-दक्षिण सम्बन्ध
बाह्य शक्तिका कारण सन् १९४८ मा कोरियाली प्रायदीप विभाजित भएपछि सयौं परिवार उत्तर र दक्षिणमा विभाजित भए। दुई देशबीच सन् १९५० देखि १९५३ सम्म चलेको युद्धले सैनिक विश्राम लिए पनि शान्ति सम्झौता भएको छैन। उत्तर र दक्षिण कोरिया अहिले पनि प्राविधिकरूपमा युद्धरत् छन्। परिणामतः कोरियाली जनतामा कुनै पनि दिन युद्ध हुनसक्ने त्रास छ। उत्तर कोरियाले पटकपटक गर्ने क्षेप्यास्त्र प्रक्षेपणले विश्वको ध्यान केन्द्रित गरेको छ। दक्षिण कोरियालाई त झन् यसले सधैँ टेन्सनमा राख्ने गरेको छ। राष्ट्र्रपति निर्वाचनको एक हप्ताअघि मात्र उत्तर कोरियाले रकेट प्रक्षेपण गरी अन्तर्राष्ट्रिय जगतलाई झस्काएको छ। अब उत्तर कोरियाप्रति कस्तो रणनीति अपनाउने भन्ने चुनौती दक्षिण कोरियाको नया" राष्ट्रपतिसामु छ। पार्क गुनहेको राजनीतिक दल सेनुरी र परिवार दुवैलाई उत्तर कोरियाली शासकले रुचाएका छैनन्। उत्तर कोरियालीहरुले पार्क गुनहेका पिता पार्क चङहीलाई मार्ने योजना पटकपटक बनाएका थिए। निशानामा उनकी आमा परेकी हुन। कोरियाली वर्तमान नेता किम जङ उनका बाबु किम इलजङलाई सन् २००७ मा भेटे पनि नेतृ पार्क अझै उत्तर कोरिया विरोधी भनेरै चिनिएकी छिन्। नवनिर्वाचित राष्ट्रपति पार्कको नर्थ कोरियाप्रतिको दृिष्टकोण वर्तमान राष्ट्रपति लि म्योङवाकको भन्दा खासै फरक नहुने ठम्याई उत्तर कोरियाले गरिसकेको छ।
कोरियाका दुई पूर्व राष्ट्रपति किम दाय जङ र रो मुह्यनले उत्तर कोरियाप्रति नरम नीति अपनाएका थिए। उनीहरुले उत्तर कोरियालाई प्रशस्त सहयोग पनि प्रदान गरेका थिए। उत्तर कोरियासँग सम्बन्ध सुधारेकै कारण किमले नोवेल शान्ति पुरस्कार पाएका थिए। नवनिर्वाचित राष्ट्रपति पार्क गुनहेका सामु उत्तर कोरियासँगको सम्बन्ध समस्यारहित बनाउनुपर्ने चुनौती छ। जसका लागि उनले आफ्नो वर्तमान दृष्टिकोण परिवर्तन गर्नुपर्नेछ।
महिलामैत्री छवि
विकसित राष्ट्रको पंक्तिमा उभिएको दक्षिण कोरियामा लैङ्गिक असमानता भने डरलाग्दो छ। वर्ल्ड इकोनोमिक फोरमको अध्ययनअनुसार विश्वका १३५ देशमध्ये लैङ्गिक समानतामा कोरिया १०८ औं स्थानमा छ। जुन मुस्लिम देश युनाइटेड अरब इमिरेट्सभन्दा तल र कुबेतभन्दा एक तह मात्रै माथि छ। कोरियाको पार्लियामेन्टमा जम्मा १५ प्रतिशत महिला छन्। ठूला कम्पनीमा १२ प्रतिशत महिलामात्र व्यवस्थापक तहमा छन् र उनीहरु पनि पुरुष सहकर्मीभन्दा कम आम्दानी गर्छन्। लैङ्गिक असमानताका बाबजुद कोरियाले पहिलो पटक महिला राष्ट्रपतिका रूपमा पार्क गुनेलाई निर्वाचित गरे पनि उनले महिलाको पक्षमा काम गर्छिन भन्नेमा महिला अधिकारवादी र राजनीतिक विश्लेषकहरु विश्वस्त छैनन्। सेन्टर फर कोरियन विमेन एण्ड पलिटिक्सकी कार्यकारी निर्देशक किम एन्जुले केही समयअघि पार्क 'बायोलोजिकलरुपमा मात्रै राजनीतिक नेतृ भएको' बताएकी थिइन्। बितेका वर्षमा पार्कले महिला हक हित सम्बन्धमा खासै चासो लिएकी छैनन्। महिला पनि राजनीतिक यात्रामा सहभागी भएका छन्। दक्षिण कोरियामा अझै पनि महिला 'करियर रोज्ने कि परिवार' भन्ने चुनौती सामना गरिरहेका छन्। महिला राष्ट्रपतिका रूपमा गुनहेले महिला अधिकारका लागि पनि काम गर्नु जरुरी छ। नत्र उनको छवि महिलामैत्री हुने छैन।नागरिक
Post a CommentDefault CommentsFacebook Comments