कोरियाबाट रकम पठाउन झन्झटिलो l
https://nnkorea.blogspot.com/2013/01/l_1.html
-निकुञ्ज तिवारी,
सउल l
दक्षिण कोरियामा कार्यरत कामदारले बैंकबाट रकम पठाउने कार्य बढी झन्झटिलो रहेको बताएका छन् । धादिङ ज्याम्रुङका कृष्णबहादुर गुरुङ कोरिया आएको ६ महिने अवधिमा सुरुका केही महिना हुन्डीमार्फत नेपाल पैसा पठाएको बताउँछन् । बैंकबाट रकम पठाउन झन्झटिलो भएकाले हुन्डीबाट पैसा पठाएको उनको भनाइ छ । पछिल्लो समय परदेशमा पसिना, आँसु र रगत बगाउँदै आर्जन गरेको पैसा यसरी पठाउँदा बिचौलियाले खाइदिने डरले उनि हुन्डी छोडेर बैंकतर्फ लागेका छन् ।
खेन्गिदो ख्वान्जुको एक कम्पनीमा कार्यरत उनले सोलमा रहेको कोरियन एक्सचेन्ज बैंक (केइबी) मार्फत नेपालमा कारोबार गरिरहेको सिद्धार्थ बैंकमा ई बैंकिङ खाता खोले । तर, नेपाल र केइबी खाताको हस्ताक्षर नमिल्दा उनको बैंकिङ कारोबार गर्ने सपना अधुरै रहेको छ ।
‘केइबीमा रहेका सिद्धार्थ बैंकको नेपाली प्रतिनिधिले हस्ताक्षर नमिलेको खाता नेपाल सम्पर्क गरेर मिलाइदिने भनेको पनि दुई महिना हुनलाग्यो,’ गुरुङ भन्छन, ‘लामो समयसम्म नमिल्दा समय अभाव र ओहोर–दोहोर गर्न झन्झट भएकाले हुन्डीमार्फत रकम पठाए ।’ सोलमा रहेका प्रतिनिधिसँग मात्र नभई उनले सो बैंकको नेपालस्थित पोखरा शाखामा सम्पर्क गरी खाता मिलाइदिन आग्रह गरे पनि कर्मचारीले व्यवास्था नगरेको गुनासो गरे । नेपाल पैसा पठाउन महँगो भए पनि बैंकिङ कारोबार भरपर्दो र विश्वासिलो तर सबैका लागि सहज नरहेको उनको बुझाइ छ ।
सुवनस्थित ग्यास कम्पनीमा कार्यरत पर्बत थापा ठानाका राम कुँवर बैंकिङ माध्ययमबारे अनभिज्ञ रहेको बताउँछन् । समय अभावका साथै बैंकले दिने सेवाबारे उचित परामर्श नपाउँदा उनीजस्तै हजारौँ कामको लागि कोरिया आएका कामदार अवैधानिक हुन्डी कारोबार गर्न बाध्य छन् ।
नेपालमा रेमिट गर्न बैंकको शुल्क महँगो भएकै कारण हुन्डीको प्रयोग गर्नुपरेको कुँवरको अनुभव छ । त्यसैगरी चितवनका सुवास शर्मा बैंक र हुन्डीको दररेटमा धैरै फरक पर्ने बताउँछन् । उनले आफ्ना कम्पनीमा कार्यरत सबैले बैंकिङ प्रणालीअन्तर्गत नै रकम पठाउने गरेको बताए ।
कोरियाबाट रकम रेमिट गर्नका लागि सरकार र श्रमिक रेमिट कम्पनी सक्षम नदेखिएका कारण करोडौँ रुपियाँ भूमिगत बाटो हुँदै नेपाल पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटयान्सले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याइरहेका बेला इपिएसमार्फत आएका अधिकांश युवा भने अवैधानिक रूपमा रकम स्वदेश पठाइरहेका छन् ।
कोरियास्थित केइबी बैंकका नेपाल प्रतिनिधि गोपी पाण्डे अवैधानिक बाटो प्रयोग गर्दा सर्टटर्म फाइदा भए पनि दीर्घकालीन नहुने बताउँछन् । यहाँका सबैलाई बैंकिङ माध्ययममा समेट्न नबिल बैंक पछिल्लो समय सक्रिय रहेको छ । उनका अनुसार बैंकले छिटै कोरियाका मुख्य चार सहरमा नेपाली प्रतिनिधिको व्यवस्था गर्नेछ ।
नविल बैंकले सन् ०११ मा केइबी बैंकसँग सम्झौता गरी सेवा सुरु गरेको हो । बैंकका अनुसार कोरियामा रहेका जुनसुकै शाखामार्फत खाता खोल्न सकिन्छ । कोरियामा रहेका करिब १९ हजार नेपालीमध्ये हालसम्म करिब सात हजार जना सहभागी छन् । केइबीले इपिएसमार्फत आउनेलाई रेमिटयान्सका लागि बैंक खाता उपलब्ध गराएको छ । यो माध्यम सजिलो भए पनि जनचेतना र प्रचार–प्रसारको अभावमा सबैलाई समेट्न नसकिएको बैंक प्रतिनिधिको भनाइ छ । यहाँबाट नेबिल, सिद्दार्थ , ग्लोबल आइएमई, हिमालय, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकमा रकम पठाउन सकिने व्यवस्था छ । तर, बैंकिङ माध्यय अझै पनि सहज नभएको कामदारको गुनासो छ ।
Post a CommentDefault CommentsFacebook Comments