दक्षिण कोरियाले पठायो एक हजार एक सय श्रम करार l

किरण ढकाल ,काठमाडौं l
 दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत एक हजार एक सय जनाको श्रम करार (लेभर कन्ट्रयाक) पठाएको छ । इपिएसमार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीमा जान प्रतिक्षा सूचीमा रहेकाको लागि रोजगारदाताले करिब दुई महिना अवधिमा एक हजार एक सय जनाको लेभर कन्ट्रयाक पठाएको हो ।

इपिएस शाखाका अनुसार सन् २०१३ सुरु भएपछि रोजगारदाताले लेभर कन्ट्रयाक पठाउन थालेको हो । यो कन्ट्रयाक अनुसार दुई महिना अवधिमा करिब चार सय जना रोजगारीका लागि कोरिया गइसकेका छन । इपिएसका निर्देशक नारायण थापाले दक्षिण कोरियाले रोस्टरमा रहेका कामदारका लागि सन् २०१३ को जनवरी पछि लेभर कन्ट्रयाक पठाउन थालेको जनाए ।
‘नयाँ वर्ष सुरु भएपछि एक हजार एक सय जनाको लेभर कन्ट्रयाक आएको छ’ थापाले भने, ‘यस मध्ये सन् २०११ मा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएसको रोस्टरमा रहेका करिब चार सय जना रोजगारीमा गइसकेका छन् ।’ अधिकांश कामदार सन् २०१२ मै आएको लेभर कन्ट्रयाक अनुसार रोजगारीमा गए पनि केही कामदार सन् २०१३ को जनवरी पछि आएको लेभर कन्ट्रयाकका समेत रहेको थापाले जनाए ।
थापाका अनुसार रोजगारदाताले फेब्रुअरीबाट रोजगारीका लागि लैजाने पूर्व तयारी अनुसार नै कामदारको कन्ट्रयाक पठाएका छन् । अहिले त्यहाँ कामको मौसम सुरु भइसकेकाले दैनिक कामदारको लेभर कन्ट्रयाक आउने क्रम बढ्दै गएको छ । रोस्टरमा रहेका कामदार आफ्नो लेभर कन्ट्रयाक आएपछि जति छिटो रजिस्ट्रेसनमा आउँछन् उत्ति नै छिटो उनीहरू रोजगारीमा जान पाउने पनि इपिएस निर्देशक थापाले बताए ।
कोरियाले केही महिना भित्रै नेपाली कामदारका लागि चौथो चरणको भाषा परीक्षा सञ्चालनको तयारी गरेकाले अहिले रोस्टरमा रहेका कामदार रोजगारीमा जान बढी समय नलाग्ने इपिएसले जनाएको छ । गत वर्ष (सन् २०११) मा भएको भाषा परीक्षा उत्तीर्ण गरी सन् २०१२ मा रोजगारीमा जान बाँकी रहेका करिब नौ हजार पाँच कामदारलाई इपिएसले रोस्टरमा राखेको थियो ।
कोरियाले २०११ मा सञ्चालन गरेको भाषा परीक्षामा १५ हजारभन्दा बढी उत्तीर्ण भएका थिए । त्यस मध्ये २०१२ मा पाँच हजार जना रोजगारीमा गइसकेकाले बाँकी कामदारको लागि जनवरीदेखि श्रम करार आउन सुरु भएको थियो । इपिएसका अनुसार गत वर्ष भाषा परीक्षा उत्तीर्ण भए पनि पुन: रोस्टरमा दर्ता भएर स्वास्थ्य परीक्षण गरी रोजगार फारम भरेपछि मात्र उनीहरू कोरिया जान रोस्टरमा दर्ता भएका हुन् ।
गत वर्ष (सन् २०१२) मा भने पाँच हजार तीन सय जनाको श्रम करार आएकोमा आठ सय जना कृषि क्षेत्रमा र बाँकी उत्पादनमुलक क्षेत्रमा रोजगारीका लागि गएका थिए । यो सहित हालसम्म इपिएसमार्फत कोरिया जानेको संख्या १४ हजार पाँच सयभन्दा बढी पुगेको छ ।
रोजगारदाता मुलुक कोरियाले सन् २०१२ का लागि छुट्याएको कामदार कोटा पूरा भएकाले गत वर्ष पाँच हजारभन्दा बढी कामदार कोरिया जान सकेनन् । गत वर्ष कोरियाले विभिन्न १५ मुलुकका लागि ५७ हजार कामदार कोटा छुट्याएको थियो । यस मध्ये नेपालबाट ६ हजार कामदार लैजाने तयारी रोजगारदाता मुलुकको भए पनि पाँच हजारभन्दा बढी जान नसकेको इपिएसले जनाएको छ ।
कोरियाले सन् २००७ मा भएको श्रम सम्झौता पछि सन् २००८ मा पहिलोपटक लिएको भाषा परीक्षामा ६ हजार पाँच सय ८६, सन् २०१० मा चार हजार ९६ र सन् २०११ मा १५ हजारभन्दा बढी कामदारलाई रोस्टरमा राखेको थियो । ठूलो संख्यामा गत वर्षको भाषा परीक्षा उत्तीर्ण कामदार रोस्टरमा रहने भएपछि सन् २०१३ का लागि भने कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन नगर्ने भएको छ । यद्यपि, सन् २०१४ का लागि भने आगामी जुलाईमा कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी कोरियाको छ ।
२००७ अघि निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थाले पछि अहिले इपिएस प्रक्रिया बाहेक कामदार कोरिया जान पाउँदैनन् । यस्तै, यस अघि कोरिया गई गैरकानुनी रूपमा बसी फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहाँ रोजगारीमा जान पाउँदैनन् । कोरियामा रोजगारीमा जाने कामदारले मासिक ८० हजारको हारहारीमा पारिश्रमिक पाउँछन् ।

Related

korea 4495233712122083217

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item