वैधानिक रूपमा फर्केकालाई कोरियाले पुनः रोजगार दिने l

सुरेन्द्र पौडेल, काठमाडौं l
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्केकालाई कोरियाले पुनः रोजगारी दिने भएको छ। कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा पास गरे यस्ता कामदारलाई पुनः रोजगारमा लगाउने निर्णय कोरियाले गरेको हो।

 वैधानिक रूपमा फर्केकालाई पुनः रोजगार दिने कोरिया सरकारको निर्णयसँगै वैदेशिक रोजगार विभागले यस्ता कामदारको भाषा परीक्षा लिने प्रक्रिया अघि बढाएको छ।

'कामदारको रूपमा तीन वर्षको अवधि पुरा गरेर पुनः रोजगार प्राप्त गरी भिसा अवधिभित्रै नेपाल फर्केका कामदारलाई कोरियाले पुनः रोजगार दिने भएको छ। यसैअनुरुप कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा लिने प्रक्रिया अघि बढाएका छौं,' वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले जानकारी दिए।

नेपाल र कोरियाबीच सम्पन्न समझदारी पत्र (एमओयु) अनुसार इपिएसअन्तर्गत कोरियमा कामगरी फर्केकालाई पुनः कामदारको रूपमा लैजाने प्रक्रिया अघि बढेको हो। इपिएसअन्तर्गत कोरियाबाट वैधानिक रूपमा फर्केकालाई कम्प्युटरमा आधारित भाषा परीक्षा लिई पुनः रोजगारमा पठाउन लागिएको यो पहिलो पटक हो।

इपिएस प्रणालीअन्तर्गत कामदारलाई सुरुमा तीन वर्षका लागि रोजगारमा लगाउने प्रावधान छ। तीन वर्ष पूरा गरेपछि कम्पनीले चाहेमा बढीमा एक वर्ष १० महिना समयावधि थप गर्नसक्ने व्यवस्था छ। थपिएको समयमा काम गर्न बिदा मिलाई कामदार नेपाल फर्केर जान पनि सक्छ र त्यहीँ बसेर सम्पूर्ण तारतम्य मिलाई काम गरेर भिसा बाँकी हुँदैमा नेपाल फर्कन सक्छ। यसरी भिसा बाँकी हुँदैमा वैधानिक रूपमा फर्केका कामदारले मात्र कम्प्युटरमा आधारित विशेष भाषा परीक्षामा सहभागी हुन पाउने छन्।

इपिएस प्रणालीअन्तर्गत नेपालबाट सन् २००८ देखि कामदार कोरिया पठाउने प्रक्रिया सुरु गरिएको थियो। निर्देशक थापाका अनुसार कम्प्युटरमा आधारित विशेष भाषा परीक्षामा सन् २०१० जनावरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्केका कामदारले मात्र सहभागी हुन पाउनेछन्।

'सन् २०१० जनावरी १ भन्दाअघि कोरियाबाट नेपाल फर्केकाहरू कि त इपिएस प्रणाली अन्तर्गत गएका हुँदैनन् या उनीहरू पुरा अवधि काम गरेका हुँदैनन्। इपिएसअन्तर्गत गए पनि उनीहरू अवैधानिक तरकिाले फर्केका हुन्छन्,' निर्देशक थापाले स्पष्ट पारे, 'यस कारण सन् २०१० जनावरी १ भन्दापछि फर्केकालाई मात्र यो अवसर दिइएको हो।'

वैदेशिक रोजगार विभागले कम्प्युटरमा आधारित भाषा परक्षिामा सहभागी भई पुनः कोरिया रोजगारमा जान चाहनेले यही फागुन २३ देखि २५ गतेसम्म फारम बुझाउन भनेको छ। परीक्षा दस्तुर २४ अमेरिकी डलर (करिब २ हजार रुपैयाँ) तोकिएको छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाले मात्र यो परीक्षा सहभागी हुन पाउनेछन्। परीक्षा चैत १४ गतेबाट सुरु हुने जनाइएको छ। चैत ३० गते नतिजा प्रकाशन हुने विभागले जनायो।

इपिएस प्रणाली अन्तर्गत तीन वर्ष काम गरी वैधानिक रूपमा फर्केका कामदारको संख्या हाल नेपालमा ७ देखि ८ सयको हाराहारीमा रहेको अनुमान विभागको छ। 'परीक्षामा सहभागी हुन कति जनाले फारम बुझाउँछन् त्यसको आधारमा परीक्षाको अन्तिम मिति पछि तोकिने छ। दैनिक ६० जनासम्मको परीक्षा लिनसक्ने क्षमता हाम्रो छ,' निर्देशक थापाले भने।

विभागका अनुसार कम्प्युटरमा आधारित भाषा परीक्षा सुनाइ र पढाइ दुवै आधारमा लिइने छ। सुनाइ ३० र पढाइ ४० गरी कूल परीक्षा अवधि ७० मिनेटको हुनेछ। परीक्षार्थिले सम्पूर्ण परीक्षा कम्प्युटर मार्फत दिनुपर्नेछ भने यसको निगरानी कोरिया र विभाग दुवै ठाउँबाट सिसि क्यामराबाट गरिनेछ।

Related

news 6588946528370399913

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item