कोरियामा महिलाको समस्यासँग वमन फर वमन - जुनु गुरुङ l

जुनु गुरुङ ,सउल ,कोरिया l
हाम्रो देश नेपालमा नारीलाई लक्ष्मी, देवीको प्रतिक मानेर पुजा गर्ने धार्मीक पराम्परा छ । नारीलाई जननी पनि भनिन्छ, तर नारीहरु नै हजारौं वर्षदेखि शोषित, पिडित छन् । नारीले नै विभिन्न किसिमका अन्याय, अत्याचार सहदै आउनु परेको  छ । नेपालको धर्म, संस्कृति, परम्परा, चालचलन, रितिरिवाज र कतिपय अन्धविश्वासको कारणले महिलाहरु सँधै शिक्षाबाट बन्चित हुनुपरेको छ । अहिले आएर देशबिदेशमा सबै ठाउँमा रहेका नेपाली महिलाहरुको अधिकार, शिक्षा दिक्षा सबै खोजी गर्दै महिला आवाज निकाल्ने क्रममा दक्षिण कोरियामा वमन फर वमन संस्था स्थापना गर्यौं । 
त्यसैगरि दक्षिण कोरियामा रहेका महिलाहरुको समस्यासँग हातेमालो गर्दै विभिन्न संस्थाहरुसँग सहकार्य गरि भविष्यमा महिलाहरुका लागि नेपालमा पनि यस संस्थाले सहयोग पुर्याउने प्रतिबद्धताको साथ कोरियामा विभिन्न पेशामा रहेको महिलाहरुको साझा चौतारी वमन फर वमनलाई सकृयताका साथ अगाडी बढाइरहेका छौं ।
नव गठित वमन फर वमन संस्थाको उपाध्यक्ष  हुँदै २०१२ को सेप्टेम्वर ७ मा पहिलो अधिवेसन भएर अध्यक्षमा चुनिएपछि सकृयरुपमा काम गर्दै कोरियाको प्रवासी महिलाहरुको अवस्था र समस्याको बिचमा बसी काम गर्दै आएको छु । यहाँको ५ हजार जती महिलाको बिचमा एउटै मात्र साझा संस्था वमन फर वमनले विभिन्न कामहरु गरिसकेको छ । 
बेरोजगार महिलाहरुलाई आवासका लागि सेल्टर स्थापना गरेको छ । जसबाट हालसम्म करिव ५ सय महिलाहरुले यस सेल्टरको उपयोग गरिसकेका छन् । बिरामी, दुर्घटना तथा उत्पीडित महिलाहरुलाई सहयोग तथा परामर्श सेवा दिएको छ । बेरोजगार महिलाहरुलाई काम खोजीदिने ब्यवस्था पनि गरेको छ । 
त्यसैगरि २०१२ डिसेम्वर २५ मा नेपालमा महिला सहचारीको माग राखी नेपाल सरकारका सम्वन्धित पक्षहरुसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना समेत गरेको थियो । कोरियामा बिहे गरेर आएका महिलाहरु प्राय घरेलु हिंसाको शिकार हुने गर्छन । उक्त अवस्थामा यस संस्थाले कानुनी परामर्श तथा विभिन्न सहयोग प्रदान गर्दै आइरहेको छ ।

दक्षिण कोरियामा दशै, तिहार, तिज जस्ता नेपाली चाडपर्वहरु तथा नारी दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहको छ । गत मार्च महिनामा अन्य दुईवटा संस्थासँग मिलेर दिलशोभा श्रेष्ठ सम्मान कार्यक्रमको आयोजना गरेको थियो । बेलाबेलामा सेल्टरमा महिलाहरुलाई मेडिकल सेवा पनि  दिने गरेको छ भने अन्य विविध कार्यक्रमहरुको आयोजना पनि गरिराखेको छ । 

इपिएस भिषामा दक्षिण कोरिया आउने महिलाहरुको बढ्दो संख्यासँगै समस्या पनि त्यहि अनुरुप बढ्दो रुपमा छ । विशेषगरि कृषि क्षेत्रमा आउने महिलाहरु बढि समस्यामा रहेका छन् । उनीहरुमा भाषाको समस्या, लगातार १२ घण्टाको काम, कोरियनहरुको रुखो ब्यवहार, कम्पनीमा तलब समयमा नपाउने जस्ता समस्या रहेका छन् । कोरियामा १ वर्ष नपुग्दै कम्पनी छोड्ने महिलाहरु धेरै हुने गर्छन । उनीहरु एउटै कम्पनीमा लगातार लामो समयसम्म काम गर्न गाह्रो मान्छन्, सक्दैनन् । त्यसमा पनि कोरियनहरुको कडा र रुखो शब्दले गर्दा महिलाहरु कम्पनी छोड्ने गर्छन । 

दक्षिण कोरियामा वैवाहिक भिषामा आएका महिलाहरु बढि समस्यामा पर्ने गर्छन । उनीहरु समस्यामा पर्नुको मुख्य कारण उमेरको ठुलो अन्तर, भाषा संस्कृतिको ज्ञान नहुनु हो भने गरिब परिवार, जाँड रक्सी बढि सेवन गर्ने, झगडालु र  रिसालु स्वभाव अनि दुर्गम क्षेत्रका सुस्त मनस्थिती तथा दुब्र्यसनीको कुलतमा रहेका पुरुषहरुसँग वैवाहिक सम्बन्ध गाँसेर यहाँ आउने हुनाले समस्याहरु झन् बढेको देखिन्छ । 
म्यारिज ब्युरो मार्फत पेपर म्यारिज गरेर आउने महिलाहरु नेपालमा क्रण गरेरै भएपनि धेरै रकम तिरेर पैसा कमाउने उद्देश्य राखी कोरिया आउने गर्छन । तर कोरिया आइसकेपछि विपरित परिस्थितिको सृजना हुन्छ । उनीहरु एकातर्फ बैवाहिक जीवनको बोझ उठाउन बाध्य हुन थाल्छन् भने अर्काेतर्फ श्रीमानको यातना, मानसिक तनाव, त्यसमाथि क्रणको बोझ । उनीहरुमा समस्यमाथि समस्या आइपर्छ । 

श्रीमानको  कुटाइबाट घाइते हुने, अङ्गभङ्ग हुने नेपाली महिलाहरुको संख्या बढ्दो छ भने जटिल परिस्थितिको सामना गर्न नसकेर कोहीले आत्माहत्याको बाटो समेत रोज्न थालेका छन् ।  
वमन फर वमनद्धारा सञ्चालित सेल्टरलाई एक कोरियन चर्चले ७० प्रतिशत रकम आर्थिक सहयोग गरिरहेको छ भने विभिन्न ब्यक्ति तथा नेपाली संघसंस्थाको सहयोग तथा विभिन्न कार्यक्रमबाट संकलित रकमले सेल्टरको सञ्चालन भइरहेको छ । 

(जुनु गुरुङ्ग वमन फर वमन दक्षिण कोरियाकी अध्यक्ष हुन् )

Related

korea 2781819969735224809

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item