कोरियामा रेडियो फ्रिक्वेन्सीको चिप डिजाइन गर्दै l

देवेन्द्र सम्बाहाम्फे  , दक्षिण कोरिया l
श्यामकृष्ण र चन्द्रदेवी श्रेष्ठका माइला छोराका रूपमा वि.स.२०२३ सालमा दोलखा भीमेश्वरमा जन्मिएका भानु श्रेष्ठ कोरियाको क्वाङवुन विश्वविद्यालयका प्राध्यापक हुन्। अध्ययनमा सानैदेखि तेज भएकाले ८ कक्षा पढने क्रममै उनले इन्जिनियर बन्ने सपना बुनेका थिए। उनको त्यो सपना गाउँको भीम मा.वि, पाटन क्याम्पस हुँदै सोलको क्वाङवुन विश्वविद्यालयमा पुगेर सन् २००४ मा पूरा भयो।

पाटन क्याम्पसमा बीएस्सी अध्ययनरत छँदा भानुले कोरियाको स्वास्थ्यसम्बन्धी संस्थाद्वारा सञ्चालित प्रोजेक्टमा आफ्नै जिल्ला दोलखामा स्वयंसेवा गर्ने अवसर पाए। त्यही सिलसिलामा उनी पहिलो पटक प्याथोलोजीको एक वर्षे तालिम लिन कोरिया पुगे। तालिम अवधिमा डाक्टर हुने इच्छा नजागेको पनि होइन, तर बुझ्दै जाँदा डाक्टर पढ्न धेरै महँगो र गाह्रो हुने कुरा थाहा पाएपछि उनी पुरानै इच्छा पूरा गर्नतर्फ लागे। त्यसपछि उनी सन् १९९४ मा क्वाङवुन विश्वविद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरका लागि स्नातक तहमा भर्ना भए। त्यहाँबाट उनले २००४ मा रेडियो फ्रिक्वेन्सी इन्टरग्रेटेड सर्किट -आरएफआइसी) मा स्नातकोत्तर तथा सन् २००८ मा मोनोलिथिक माइक्रो वेभ इन्टरग्रेटेड सर्किट -एमएमआइसी) मा विद्यावारिधि गरे।

अहिले श्रेष्ठले रेडियो फ्रिक्वेन्सीमा बिना तार सिग्नल पठाउने प्रणालीभित्र फ्रिक्वेन्सी जेनरेट गर्ने चिप डिजाइन गर्ने विषयमा अनुसन्धान गरिरहेका छन्। चिप डिजाइन प्रविधिलाई कोरिया, जापान र अमेरिकामा समेत उच्चस्तरको प्रविधि मानिन्छ। त्यसैले यो क्षेत्रमा विभिन्न खालका चिपलाई कति पातलो, सानो र सुविधाजनक बनाउने भन्ने विषयमा प्रतिस्पर्धा भैरहन्छ। यो प्रविधि अहिले नेपालमा पनि मोबाइल फोनलगायत विभिन्न विद्युतीय उपकरणहरूमा प्रयोग भैरहेको छ, तर नेपालले हालसम्म प्रविधि निर्माणको युगमा प्रवेश गरी नसकेकाले त्यस्ता चिप नेपालमै निर्माण गर्न धेरै कठिन हुने उनको अनुभव छ। दैनिक ८ देखि १० घण्टा चिप डिजाइन प्रयोगशालामा बिताएर थरीथरीका चिप डिजाइन गरिरहेका श्रेष्ठ आफूले अनुसन्धान गरिरहेको चिपलाई सफल बनाएर नेपाल र नेपालीको नाम राख्ने सोचमा छन्।

विगत पाँच वर्षदेखि आफैंले अध्ययन गरेको विश्वविद्यालयमा प्राध्यापनसमेत गरिरहेका श्रेष्ठले आफ्नो अनुसन्धानका बारेमा बेलायत र अमेरिकामा पटक-पटक कार्यपत्र प्रस्तुत गरेका छन्। आफूले गरेको खोज तथा अनुसन्धान अद्वितीय भएकै कारण उनी 'हु इज हु इन द वल्र्ड' नामक परिचयकोषमा आफ्नो नाम लेखाउन सफल छन्। 'हु इज हु इन द वल्र्ड' अमेरिकाबाट हरेक वर्ष प्रकाशन हुँदै आएको विश्वका विभिन्न क्षेत्रका अद्धितीय प्रतिभाहरूको नामावली समावेश गरिएको परिचयकोष हो। उक्त परिचयकोषमा लगातार ६ वर्षसम्म नाम लेखाउन सफल हुने सम्भवतः उनी पहिलो नेपाली हुन्। श्रेष्ठले सन् २०११ मा अमेरिको 'अमेरिका बायोग्राफिकल इन्स्िटच्युट रिसर्च बोर्डको मानार्थ सल्लाहकार हुने अवसर पनि पाएका थिए भने इन्टरनेसनल बायोग्राफिकल सेन्टर -आइबीसी) क्याम्ब्रीज बेलायतबाट चार पटकसम्म पुरस्कार तथा सम्मान पाएका थिए। श्रेष्ठले सन् २००९ मा नेपाल विद्या भूषण स्वर्ण पदक लगायत दर्जनौ पुरस्कार, सम्मान तथा अभिनन्दन पनि प्राप्त गरेका छन्।

भानुले आफ्ना जेठा दाजु डा. मधु माधुर्यबाट अध्ययन तथा अनुसन्धानका लागि रेखदेख एवं प्रेरणा पाएका हुन्। माधुर्यकै प्रभावमा भानु सहित्य र सङ्गीतको क्षेत्रमा समेत सक्रिय थिए। उनले आफ्नै गीत, संगीतमा दोलखाको नेवारी भाषामा 'उ द्वाल्खा छिजी खेङ' गीतसमेत गाएका छन्। त्यसबाहेक उनले नेपाल तथा भारतका तेक्वान्दो खेलाडीहरूलाई सहयोग गर्दै आएका छन्। तेक्वान्दो खेलको विकासमा अमूल्य योगदान पुर्‍याएबापत विश्व तेक्वान्दो हेडक्वाटर गुक्किवोनले उनलाई 'द अनरेरी थर्ड ब्ल्याक बेल्ट' प्रदान गरेको छ भने अल नेपाल तेक्वान्दो एकेडेमीले पनि सम्मान गरेको छ। कोरियामा रहेर अध्यापनका साथै सोल सङबुक क्षेत्रको शैक्षिक, सामाजिक एवं बहुसांस्कृतिक विकासमा प्रत्यक्ष-अप्रत्यक्ष योगदान गरेबापत श्रेष्ठलाई कोरिया सरकारले गत वर्ष सम्मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ। कोरिया सरकारबाट मानार्थ नागरिकता पाउने उनी तेस्रो नेपाली हुन। उनी कोरिया तथा नेपालका थुप्रै सामाजिक तथा प्रविधिक संस्थाहरूको संरक्षक एवं सल्लाहकार छन्। नेपाल र कोरियाबीच सांस्कृतिक आदान-प्रदानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले दुई देशबीचको प्राकृतिक, सांस्कृतिक, भौगोलिक एवं रहनसहन खुल्ने 'एउटै किताबले सिक्न सकिने नेपाली संवाद' नामक पुस्तक पनि लेखेका छन्। उक्त पुस्तकले कोरियाली पर्यटकहरूलाई नेपालका बारेमा बुझ्न धेरै मद्दत गर्नेछ भने नेपाली पाठकलाई कोरियाली भाषा बुझ्न सघाउँछ। उनी द नेपाल कोरिया फ्रेण्डसीप सोसाइटीका अध्यक्ष पनि हुन्।

आफूले सिकेको प्रविधि नेपालका लागि अत्यावश्यक भएको श्रेष्ठको दाबी छ। नेपालमा रेडियो फ्रिक्वेन्सीसम्बन्धी सैद्धान्तिक ज्ञान दिने काम सुरु भए पनि यसलाई कसरी डिजाइन गर्ने, कसरी बनाउने भन्ने विषयमा नेपाल धेरै पछाडि रहेको उनले बताए। नेपालीहरूले अस्थिरता, बन्द, हड्तालको राजनीति छोडेर सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासमा लाग्नु आवश्यक भएको उनको ठम्याई छ। विज्ञान र प्रविधिका साथै विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूका लागि नेपालमा 'स्काउट सिस्टम' लागु गर्नुपर्ने श्रेष्ठको राय छ। उपयुक्त वातावरण र अवसर निर्माण्ा भए विभिन्न मुलुकबाट आफूले आर्जन गरेको प्रविधि, ज्ञान, सीप एवं दक्षता लिएर नेपाल र्फकने उनको चाहना छ। सोल, म्यङदङस्थित एक नेपाली रेस्टुराँमा श्रीमती उपहार श्रेष्ठसँग भेटिएका श्रेष्ठले भने, 'त्यसका लागि सरकारले उपयुक्त नीति, नियम तथा वातावरण बनाइदिनुपर्छ।'

Related

photo 3881227368098711735

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item